Monday, August 20, 2012

यात्रा: अद्रिश्य पर्खालको खोजिमा


खुट्टाहरु गल्न थलिसकेका थिए । सुनसान जंगल, अध्यारिएको आकाश, चराचुरुङी आफ्नै लयमा भाका बुनिरहेका थिए । साथिहरु आफ्नै तालमा हिडिरहेका थिए । मलाई फेरि एकचोटी सोध्न मन लाग्यो अलि निस्चिन्त हुन। थकित स्वरमा मैले उसलाइ सोधिहाले ,"हामी पुग्ने चाँही कहाँ हो नी ?" उस्ले उही पुरानो मुस्कान फिस्स छोड्दै भन्यो -"मैले तिमीलाई अघि नै भनेको होईन ,पर्खाल हेर्न जान थालेको ।"

हो , यति त उसले कलेज मै भनिसकेको  थियो । 7th सेमेस्टरको  पहिलो दिन ,एकाएक कलेजमै सबैजना भेट भएका थियौ र सदा झै हचुवामा प्लान बनेको थियो ,लामो पर्खाल घुम्न जाने । मैले फेरि सोधे- "कस्तो पर्खाल हो र ? " उस्ले भन्यो "नेपालको सबैभन्दा लामो पर्खाल ।"  "ohoo!great wall of nepal " उसको मुस्कानलाई टक्कर दिने प्रयास गर्दै मैले भने ,"तिमी पहिले पनि आएका थियौ ? " "नो" उसले टाउको हल्लायो । "अनी यहाँ छ भन्ने कसरी थाहा पायौ त ?" ऊसले गर्वसाथ उत्तर दियो- "सामान्य ज्ञानको किताब पढेको थिए , त्यसैमा लेखेको थियो ,नेपालको सबैभन्दा लामो पर्खाल शिवपुरी राष्ट्रिय निकुन्जमा छ भनेर । "

उसको यस्तो जवाफ सुन्नासाथ् कताकता भिन्न अनुभुती भयो । पहिलेको भन्दा अलिकति भिन्नै । हुनत हाम्रो घुमघाम गन्तब्यहिन नै हुने गर्थ्यो । बाटो नाप्दै गएपछी , गन्तब्य बन्दै जान्थ्यो । जति जति खुट्टाहरु अघि बढ्दै जान्थे, हाम्रो हाम्रो यात्रा उती जटिल र रोमान्चक बन्दै जान्थ्यो खुट्टा र गफको तालमा । adventurous  यात्रा गर्ने बहानामा कैयौपल्ट स-साना बाधा अड्चन पनि नपरेका होइनन । तर यो यात्रा पहिलेको भन्दा अली फरक थियो । फरक कुन अर्थमा म किटेरै भन्न सक्दिन । तैपनि केही फरक भने अवस्य थियो ।

सधैं घुमघाममा हामी केटाहरु मात्र हुन्थ्यौ । तर यो यात्रामा हाम्रा दुई केटी साथिहरु पनि संगै घुम्न आएका थिए । त्यसैले  हामि माथी समयको पावन्दी थियो अनी गन्तब्य थियो सामान्य ज्ञानको पानामा अधिपत्य जमाएको नेपालको लामो पर्खाल हेर्ने ।  जति जति केटाहरुको गफमा weight थपिदै जान्थ्यो , हाम्रो खुट्टाको गति पनि त्यहि अनुसार बढ्दै जान्थ्यो । यस्तै घुमघामबाट हामीले एउटा निश्कर्ष  भने निकालिसकेका थियौ -"जसले रोमन्चक गफ हान्न सक्छ उस्को ग्रुप अगाडी हुन्छ। "  हुन पनि हो चर्को स्वरमा फिल्मी गफ हान्ने साथी र भाबुकता र पढाइका गफ गर्ने साथिहरुबिच निकै दुरी देखिन्थ्यो हिड्ने क्रममा । कहिले area 51  का कुरा त कहिले   क्रीकेट मास्टर सचिनका कुरा । कहीले महाभारत का कुरा त कहीले Dan Brown का Da Vinci Code का कुरा । कसरी अटेका होलान् त्यत्तिका कुराहरु एउटै हरफमा ।

"ओये राजन अली बिस्तारै बोल है " खै राजनको मुखबाट के निस्कियो त्यस्तो अर्कोले साबधान गराइरहेको थियो । साँच्चै केही सतर्क हुनु पर्ने समय जो थियो । non-veg  शब्द निकाल्न अली मनाही थियो । पहिले पहिले को घुमघाम्मा त जति जे बोले पनि हुन्थ्यो । शब्दहरु स्वतन्त्रता चाँहदा रहेछन र स्वतन्त्रताले शब्दलाई अश्लिल पनि बनाउदो रहेछ । कति शब्दहरु घाटीमै अड्किन्थे र केही शब्द फिल्टर हुदाहुदै पनि फुत्त बाहिर निस्कन्थे र केटाहरु जिब्रो टोक्दै पछुताए झैँ गर्थे ।

 पृष्‍ठभुमीमा चराचुरुङीको संगितमा साथिहरु परेड खेलेझैँ आवाज निकाल्दै अघि बड्दै थिए कुनै बेग्लै संसारको खोजिमा । भर्खरै सकिएको 6th semesterko examले सबैको दिमाग hang गरिसकेको थियो । महिनौ दिनसम्म चलेको examले  जबरजस्ती दिमागलाई खेलाउन वाध्य बनाएको थियो । "आफुले जे छाड्ड्यो त्यहि प्रश्न सोध्छ यार ।" "यो सेम त धोबी भयो ।" अर्कोले थप्दै थियो । "कहीले पो राम्रो भाथ्यो र ? " केटाहरु गुनासो पोखिरहेका थिए । संगै घुम्नुको मज्जानै यही थियो सबैको पिडा share गर्न पाइन्थ्यो । ऊता रमेश loudspeaker भन्दा चर्को स्वोरमा चिच्याइरहेको थियो -" लास्टको एउटा  numerical त छुदा पनि छोएन यार ।"
     
यसो  घडी हेरेको ५ बज्न थालिसकेको थियो । जाडो महिना सुर्यले आफ्नो duty छिट्टै सकिएको संकेत दीइरहेको थियो । छायाहरुको लम्बाइ बढ्दै थियो समानुपातिक रुपमा समय संगै । अगाडिका साथीहरु गन्थन गर्न थालेका थिए खै के बिषयमा हो । कुरो बुझ्दै जादा थाहा भयो हामीले त गन्तब्य नै बदली सकेका रहेछौ । बीच बाटोमै केटाहरुले लामो पर्खाल भयेतिर जान नभ्याउने अड्कल काटेछन । त्यता जाँदा साझ पर्ने र होस्ट्ल बस्ने केटी साथिलाई अप्ठ्यारो हुने , आदि कारणले अगाडी हिडेका साथिहरुले त्यस्तो निर्णय लिएछन । अरु कसैलाई पत्तै भएनछ । "कत्रो होला त नेपालको लामो पर्खाल ",,"कसका पालामा बनेथ्यो होला ?",,,आदी इत्यादी प्रश्नहरु अनुत्तरित भइरहे examको खाली पेपर जस्तै । साथिहरुको उत्सुकता त्यसै सेलाउदै गयो । केटाहरु कनकनाउदै  थिए ।-"ओहो ! धन्नै great wall of china जत्तिकै रहेछनी । बरु चन्द्रमाबाट पो देखिन्छ की देखिदैन । '"  हिड्ने जागर पनि मरिसकेको थियो । राष्ट्रिय निकुन्जको घना जंगल  पातलिदै जादा एउटा सानो गाउँ देखिए जस्तो लाग्यो । १२ जनाको टोली एउटा भाचिएको रुखको आडमा एकैछिन बिश्राम् लियौ । कोहि कोहि भने सविनलाई ठट्टौरी पारामा अझै भनिरहेका थिए । -"सबिनको सामान्य ज्ञानको पर्खाल त अद्रिष्य नै रहेछ ।"

( यो लेख January 30, 2011 मा  फेसबूकमा पोस्ट गरेको थिए ) 


1 comment:

  1. लेखाइको उत्कृष्ठ नमुना ,हाम्रा सबै हाइकिङलाई समेटेर एउटा उपन्यासै लेख्नु छ तिम्ले , स्मरण रहोस् |

    ReplyDelete