Friday, May 11, 2012

गन्तब्यहिन यात्रा

अनिश्चित गन्तब्य
असिमित प्रयास
लाग्छ म त्यस्कै पछि पछि छु
जुन धेरै टाढा
क्षितिजमा हराइरहेको छ ।

अनगिन्ती परिचित अनुहारहरु
बाध्यता बनी चिच्याइरहेका छन्
मेरा हर पाइलालाई अघि बढाउन
धकेल्दै छन्
तर निराश यी हत्केला
शिखर चुम्ने प्रयासमा
परिस्थिती र ठक्करमाझ
रुमल्लिरहेको छ
अन्धकार र भयानक भिडमा
अल्झिरहेको छ ।

सारा संसार
निन्द्रालाई अँगालिरहेको बखत
मेरो आँखा अँधेरी खोज्न थाल्छन्
तर बिडम्बना
मेरा यी नयन वाध्य छन्
अक्षरहरु केलाउन, शब्द शब्द कोट्याउन
सोच्न विवश हुन्छु
तथ्य केलाउन थाल्छु
र स्वयंलाई प्रश्न गर्छु
कसको लागी र किन ?

जब नियाल्छु ती कौवाहरु
मानिसका वितृष्णाका पात्र
पर्बाह छैन केही
स्वतन्त्र उड्दै छन् खुला आकशमा
म भन्दा कैयौँ गुना भग्यमानी ।


तर सोँच
सीमित रहदैँन यत्तिमा
र धावा बोल्दछ
ती चुनौतीहरुलाई
देख्लास्!
एकदिन अवश्य उड्ने छु
त्यो शिखर चुम्ने छु
जुन म भन्दा धेरै टाढा छ
जुन क्षितिजमै हराइरहेको छ ।





No comments:

Post a Comment