Saturday, February 23, 2013

आफ्नै गन्थनहरु

करीब ३ बर्ष अघी पहिलो ट्विट् " nothing..... " लेखेर सुरुवात गरेको ट्विटर् यात्रामा आजसम्म करीब ३ हजार ट्वीट्स् पुग्न आटेछ । यो ३ बर्षमा ट्विटरमा धेरै कुराहरु लेखियो । कहिले आफु भित्र उकुशमुकुश भएका भावनाहरु त कहिले देशको परिस्थितीलाई गरिएको ब्यंग १४० शब्दका समेट्ने प्रयास गरियो । कती त ट्विटरकै भाषामा "हावा छेक्न"लाई मात्र भएनी लेखियो। ति मध्य केही ट्वीट्स् यहाँ संग्रह गर्ने जमर्को गरेको छु ।



·         एक दुई चोटि हन्डर खाँदैमा के चिन्ता लिन्छौ यहाँ मानिस केही नखाइ त बाँचेका छन

·         बिज्ञानले जतिसुकै प्रगती गर्ला तर चन्द्रमाभन्दा पर लैजाने मृत्‍युमाथि भने कहिलै बिजय प्राप्त गर्न     सक्दैन 

·         अमेरिका जान डि भि भरी राख्नु पर्दैनभाग्य भए चैतको हुरिले उडाएरै अमेरिका पुराउछ

·         कैलेकाही त जिन्दगीको रेसमा अरु सबै खरायो आफुमात्र कछुवा जस्तो लाग्छबच्चामा पढेको कथा  जस्तो भैदिये हुन्थ्यो नि

·         साला जिन्दगी जती बुझ्न खोज्यो उती जटिल लाग्छ, बुझ्न नखोजु अरुका कुरा सुन्दा आफुले मात्र नबुझेको हो कि जस्तो लाग्छ

·         यदी त्यो कहाली लाग्दो जेष्ठ १९ नआएको भए आज यसरी हरेक जेष्ठ १४ ले अपमानित हुनु पर्ने थिएन होला #KingBirendra #CA       

·         ट्विटरमा जताततै बहस मात्र देख्छु, आफु बालक बुबुरु न त बहसलाई नजरन्दाज गर्न सक्छु न त बहसको ज्वालामा होमिन,तातो राप तापेरै चित्त बुझाउदैछु

·         जिन्दगीभर गरेका पापहरु गोसाइकुन्डमा पखालियो र फेरी काठमाडौं छिरियोनयाँ पापहरु गर्नलाई 

·         जब जब म पशुपतिनाथ जान्छु जिन्दगीको वास्तविकता बुझेको जस्तो भान हुन्छ तर क्षणिक समयलाई मात्र 

·         कुनै दिन ट्विटर् बन्द भयो भन्ने हल्ला चल्यो भने सबै जना केही नसोची "RIP twitter" लेखेर ट्विट्न गर्न बेर लाग्दैनन्

·         सरकारी धन उडाउने चाहि भलाद्मी रे, बिचरा एकैछिन मन शान्त पार्न धुवा उडाउने चाँही अपराधी रे

·         कुनै बेला थियो भट्टराईको क्या इज्जत थियो आजकाल त "थरमा के राख्या छ र" भन्दै हिंड्ने बेला आयो

·         युरोकपको ट्रफी भन्दा महँगा ट्विटहरु देखेर छक्क परिरहेको अवस्था

·         यी मुसाले नि केही बाँकी राखेनन हुँदा हुँदा घरमा पालेको बिरालो नि खान थालेछन्... #पल्ला_घरेको_गफ

·         कहिलेकाही त आफ्नै भाग्यलाई यसरी गाली गर्न मन लाग्छ कि कसैले सुन्यो भने ATM फिल्मको डायलग बरु सभ्य थियो भन्छ होला 

·         काल-जसलाई न त कुनै पहलमानले नै रोक्न सक्यो न त कुनै सुपरस्टारको कलाकारिताले नै झुक्काउन सक्यो #RIP Rajesh K

·         तर्क दे पासा तर्क..... यहाँ न त कामुकता नै छ न त अश्लीलता

·         कहिले काँही त जिन्दगीमा रमाउने बहाना खोज्दा खोज्दै दिन बितेको पत्तै नहुदो रहेछ

·         आजकाल त बागमती र बिष्णुमती पनि आफ्नो कल्कलाउदो बैश देखाउदै उर्लदै छे...धन्य ईन्द्र तेरो रहर पुरा भो

·         कोही केक काट्दै छन् कोही कुरा काट्दै छन्... जे जान्याछ त्यही त काट्ने हो :D

·         साथी यता सबै सञ्चै छन् ,बाबुरे गुच्चादारको छ्त्रछायामा पनि बाँच्न सक्नु नै यहाँ ठुलो कुरो रैछ 

·         "ओ हो कती फोहोर यो बागमती" भन्दै खोलातिर प्याच्च थुक्ने बानी नछाडे सम्म देश बन्ने वाला छैन

·         ब्रतबन्धको दिन त्यो डोरी भिर्दा कती पनि सोचे थिन कि त्यो डोरिलाई केही बुद्दीजिबिहरु पासो नै ठान्दा रैछन्

·         साथी र बियर नहुदो हो त जिन्दगी कती निरश हुन्थ्यो होला #HappyFrenshipDay n #HappyBeerDay

·         4 घण्टा बन्दमा 7 गाडी तोडफोड..उपलब्धी गरे भन्ठान्या होलान.. कुन दिन मान्छेको फेला पर्छन अनी एक घण्टामै २०६ वटा हड्डी तोड्फोड भएसी थाहा पाउछन 

·         साला जिन्दगी त प्याज नै रैछ जती भित्र गयो त्यती गनाउने

·         जिन्दगी र सँयोग त एक अर्काका पर्याय नै हुन,यहाँ हरेक घटना आँफैमा सँयोग हुन ,तिमी र म एकैचोटि #TL मा देखिनु के यो कुनै नियोजित थियो र?

·         नाँगिनु सधैं रहर मात्र हुँदैन,कोही बाध्यताले नाँगिन्छन त कोही देशको लागि नाँगिन्छन् तर उनी चाँही नुहाउनको लागि नांगिएकी हुन रे 

·         भर्खर कुर्ची हल्लियो... के भयो भनेर बुझ्न ट्विटर् खोलेको... सच्चिकै भुइचालो गाको हो ??

·         शहरभरी तिजको रमझम छ, टुडिखेलमा महिलाहरु रंगिचङी भएर नाचिरहेका छन तर नजिकैको रत्नपार्क भित्रको माहोल भने अत्यन्त बेग्लै छ 

·         "पशुपतिको आर्यघाट" र "रत्नपार्क भित्रको चहलपहल" काठमाडौंका ति दुई ठाउ हुन् जहाँको द्रिश्यले मलाई नानाथरी कुरो सोच्न वाध्य पार्छ 

·         यो इश्वर भन्ने कुरो त समयको उपज कहिलेकाही कुकुरलाई हिर्काएको ढुंगोमा पनि पछी ईश्वर देख्न सकिन्छ

·         किन्न त नसकुला तर पनि मानब जातिले गरेको प्रगतिमा म नि एकदम खुशी छु #iphone5 

·         छलफल गरेरै टुंगोमा पुगिने कुरामा के यस्तो महँगो रगत बगाउनु...रहरै छ भने बरु रक्तदान गरे हुन्छ नि 

·         हामी हार्छौ र त जितको तिर्खा हामीलाई प्यारो लाग्छ 

·         हरेक दिन हरेक ब्यक्तिको जिवनमा एउटा कथा बुनिन्छ एउटा नितान्त मौलिक कथा

·         अब दशै नजिकिदै छ अर्थात् बुद्धिमानी मान्छेहरुको भोक मेटाउन तयार पारीएका निर्दोश बोकाहरुको दिनगन्ती सुरु भैसकेको छ 

·         जबसम्म म्यारिज गरिदैन तबसम्म मात्र म्यारिज खेल्नुमा मज्जा छ

·         यदी तिमीले लेखेका शब्दहरुले मेरो मनलाई चसक्क छोएर मनस्पटललाइ झक्झकाउन सक्छ भने तिमी साच्चै मेरा लागी बरिश्ठ हौ 

·         जब हामीसामु कुनै ठुलो समस्या देखा पर्दैन तब हामी हामी आँफै सानो समस्या खडा गछौ किनकी हामीलाई समस्या सँग जुध्ने बानी जो बसिसक्यो


·         साथीहरुले बिनासित्ती फुर्काइदिन्छन अनी म नि फुर्किन्छु......खुशी हुने बहाना जो खोज्दछ जिन्दगी 

·         कैयौ झट्कापछी निर्माण भएको भनेर के घमन्ड गर्नु प्रकृतिको एक झट्काले पनि सातो काड्दो रैछ 

·         सर्बसाधारणको घरमा लक्ष्मी छिर्न नदिन बेलाबेलामा बत्ती काटेको जस्तो लागिराछ, पोस्ट्मा बसेकाहरु त चल्खेल गर्न निक्कै सिपालु हुन्छन नि

·         आफ्नै देशका नेताले झापड खादा खुशी त कसलाई पो लाग्या छ र तर कता कता ठिकै गरेउ भन्ने चाँही लागेकै हो

·         अरुले साहित्य हान्या देख्दा रहरै लाउछ भन्या, म नि एउटि सँग लप गरेर छोड्नु पर्ला.. अनी एसो बिछोडका गन्थन फुर्थे कि 

·         नढाटी भन्नु पर्दा आज उनको बिहे भोज खाएर आएको शायद जिन्दगीमा पहिलोचोटि होला रसबरी खल्लो लागेको

·         सच्चिकै यो मंसिरले कतिको सपना चुडेर लान्छ होला है पञ्चेबाजा बजाउदै 

·         "भो धेरै नरो तेरो आँशुले लोडशेडिङ घट्दैन पो भन्छ बा यो प्राधिकरण" अब एकैछिनमा लाइन जान्छ रे... सान्त्वना दिनुहुने सबैलाई धन्यवाद

·         वास्तविकता हेर्न त थियटरनै धाउन पर्दो रैछ, बाहिर त सबै रमिता गर्न मै ब्यस्त छन 

·         साथि समाबेशी कोटा भन्ने कुरो त तिमि हामि बाहुन क्षेत्रीको छोरालाई पन्छाउने अस्त्र पो रहेछ 

·         बिचरो एउटो हात्तिको पछी लाग्नुको साटो दर्जनौ गधाहरुलाई तह लगाए जनतालाई राहत मिल्ने थियो 

·         हल्लैको भरमा त हामी यती डराएछौ बिचारो "धुर्बे हात्ती" तेत्तिका बन्दुके पछी लाग्दा कत्ती डराएको होला

·         17 बर्ष अघि हजुरबाको काध चढेर आको ठाउ अहिले Land cruiser चढेर आउदा कम्ता खुसि लाछैन #Gulmi

·         सहरतिर "New Year" कसरि मनाउने भन्ने चिन्ता होला गाउतिर भने सबैलाई रातिको चिसो कसरि छल्ने भन्ने चिन्ताले सताईराछ

·         धन्न रुइ र फुइ छ नत्र त दुइ नभएकालाई त यो जाडो काट्न गारो रैछ

·         हात्ती ,बाग ,भालुहरु सभ्यता खोज्दै सहर छिरिरहेको अवस्थामा मान्छे भने झन् जनावरको भन्दा गिर्दो व्यवहार देखाउदै छन्

·         काठमाडौँका चिल्ला सडकमा चिल्ला गाडीमा चिल्ला गफ हान्दै हुइकिने नेता रहेसम्म दुर्गममा बिकाश पुग्ने आश नगरे हुन्छ

·         सडक , बत्ति र नेटवर्क बरु नपुगेका होलान् तर आत्मियता भने गाउ गाउमा महसुश गर्न पाईन्छ 

·         केहि मीठो बात गर TL त्यसै भरिदै छ,भरे फेरि उनकै यादमा देवदास बन्नु त छदैछ

·         येस्तरी सोफा बाटै लड्ने गरि हास्छौ भने त भो म अब हसाउदिन ... तिमीलाई चोट त पार्नु भएन नि 

·         राम्रा राम्रा ट्विट् खोज्दै रिट्वित गर्न सक्नु नि एउटा कला नै हो .....अल्छिहरुको कला

·         भो साथी फ्ल्याशब्याकमा नजाउ ,जिन्दगी त अघी बढ्नलाई पो हो त ,अतित सम्झेर किन अल्झाउनु यो महँगो समयलाई

·         लोडशेडीङ्ग घटाउन प्रमलाइ सहयोग गरौ ,सबै मिलि कुनेखानी भरौ #सुसूअभियान

·         रत्नपार्क :जहाँ बिक्छ सबैकुरा सस्तोमा .. हो "सबैकुरा" अनि सस्तोमा पनि

·         "सक्कल बमोजिम नक्कल ठीक छ" लेख्दा लेख्दा थाकिसकेका यि हातहरुले सरकारी तलब गन्ने सपना देख्न छाडिसके

·         प्रेमको परिभाषा न उनलाई थाहा थियो न मलाई...तर भाग्यले साथ दियो..प्रेमको परिभाषा परिक्षामा कहिल्यै सोधेन Feb 14, 2013 

·         दुइ छाक खान दिनभर दौडधुप गर्नुपर्नेलाई प्रजातन्त्र दिवस भित्रेपात्रोमा कोरिएको रातो चिनो बाहेक केहि होइन Feb 18, 2013 







Monday, August 20, 2012

यात्रा: अद्रिश्य पर्खालको खोजिमा


खुट्टाहरु गल्न थलिसकेका थिए । सुनसान जंगल, अध्यारिएको आकाश, चराचुरुङी आफ्नै लयमा भाका बुनिरहेका थिए । साथिहरु आफ्नै तालमा हिडिरहेका थिए । मलाई फेरि एकचोटी सोध्न मन लाग्यो अलि निस्चिन्त हुन। थकित स्वरमा मैले उसलाइ सोधिहाले ,"हामी पुग्ने चाँही कहाँ हो नी ?" उस्ले उही पुरानो मुस्कान फिस्स छोड्दै भन्यो -"मैले तिमीलाई अघि नै भनेको होईन ,पर्खाल हेर्न जान थालेको ।"

हो , यति त उसले कलेज मै भनिसकेको  थियो । 7th सेमेस्टरको  पहिलो दिन ,एकाएक कलेजमै सबैजना भेट भएका थियौ र सदा झै हचुवामा प्लान बनेको थियो ,लामो पर्खाल घुम्न जाने । मैले फेरि सोधे- "कस्तो पर्खाल हो र ? " उस्ले भन्यो "नेपालको सबैभन्दा लामो पर्खाल ।"  "ohoo!great wall of nepal " उसको मुस्कानलाई टक्कर दिने प्रयास गर्दै मैले भने ,"तिमी पहिले पनि आएका थियौ ? " "नो" उसले टाउको हल्लायो । "अनी यहाँ छ भन्ने कसरी थाहा पायौ त ?" ऊसले गर्वसाथ उत्तर दियो- "सामान्य ज्ञानको किताब पढेको थिए , त्यसैमा लेखेको थियो ,नेपालको सबैभन्दा लामो पर्खाल शिवपुरी राष्ट्रिय निकुन्जमा छ भनेर । "

उसको यस्तो जवाफ सुन्नासाथ् कताकता भिन्न अनुभुती भयो । पहिलेको भन्दा अलिकति भिन्नै । हुनत हाम्रो घुमघाम गन्तब्यहिन नै हुने गर्थ्यो । बाटो नाप्दै गएपछी , गन्तब्य बन्दै जान्थ्यो । जति जति खुट्टाहरु अघि बढ्दै जान्थे, हाम्रो हाम्रो यात्रा उती जटिल र रोमान्चक बन्दै जान्थ्यो खुट्टा र गफको तालमा । adventurous  यात्रा गर्ने बहानामा कैयौपल्ट स-साना बाधा अड्चन पनि नपरेका होइनन । तर यो यात्रा पहिलेको भन्दा अली फरक थियो । फरक कुन अर्थमा म किटेरै भन्न सक्दिन । तैपनि केही फरक भने अवस्य थियो ।

सधैं घुमघाममा हामी केटाहरु मात्र हुन्थ्यौ । तर यो यात्रामा हाम्रा दुई केटी साथिहरु पनि संगै घुम्न आएका थिए । त्यसैले  हामि माथी समयको पावन्दी थियो अनी गन्तब्य थियो सामान्य ज्ञानको पानामा अधिपत्य जमाएको नेपालको लामो पर्खाल हेर्ने ।  जति जति केटाहरुको गफमा weight थपिदै जान्थ्यो , हाम्रो खुट्टाको गति पनि त्यहि अनुसार बढ्दै जान्थ्यो । यस्तै घुमघामबाट हामीले एउटा निश्कर्ष  भने निकालिसकेका थियौ -"जसले रोमन्चक गफ हान्न सक्छ उस्को ग्रुप अगाडी हुन्छ। "  हुन पनि हो चर्को स्वरमा फिल्मी गफ हान्ने साथी र भाबुकता र पढाइका गफ गर्ने साथिहरुबिच निकै दुरी देखिन्थ्यो हिड्ने क्रममा । कहिले area 51  का कुरा त कहिले   क्रीकेट मास्टर सचिनका कुरा । कहीले महाभारत का कुरा त कहीले Dan Brown का Da Vinci Code का कुरा । कसरी अटेका होलान् त्यत्तिका कुराहरु एउटै हरफमा ।

"ओये राजन अली बिस्तारै बोल है " खै राजनको मुखबाट के निस्कियो त्यस्तो अर्कोले साबधान गराइरहेको थियो । साँच्चै केही सतर्क हुनु पर्ने समय जो थियो । non-veg  शब्द निकाल्न अली मनाही थियो । पहिले पहिले को घुमघाम्मा त जति जे बोले पनि हुन्थ्यो । शब्दहरु स्वतन्त्रता चाँहदा रहेछन र स्वतन्त्रताले शब्दलाई अश्लिल पनि बनाउदो रहेछ । कति शब्दहरु घाटीमै अड्किन्थे र केही शब्द फिल्टर हुदाहुदै पनि फुत्त बाहिर निस्कन्थे र केटाहरु जिब्रो टोक्दै पछुताए झैँ गर्थे ।

 पृष्‍ठभुमीमा चराचुरुङीको संगितमा साथिहरु परेड खेलेझैँ आवाज निकाल्दै अघि बड्दै थिए कुनै बेग्लै संसारको खोजिमा । भर्खरै सकिएको 6th semesterko examले सबैको दिमाग hang गरिसकेको थियो । महिनौ दिनसम्म चलेको examले  जबरजस्ती दिमागलाई खेलाउन वाध्य बनाएको थियो । "आफुले जे छाड्ड्यो त्यहि प्रश्न सोध्छ यार ।" "यो सेम त धोबी भयो ।" अर्कोले थप्दै थियो । "कहीले पो राम्रो भाथ्यो र ? " केटाहरु गुनासो पोखिरहेका थिए । संगै घुम्नुको मज्जानै यही थियो सबैको पिडा share गर्न पाइन्थ्यो । ऊता रमेश loudspeaker भन्दा चर्को स्वोरमा चिच्याइरहेको थियो -" लास्टको एउटा  numerical त छुदा पनि छोएन यार ।"
     
यसो  घडी हेरेको ५ बज्न थालिसकेको थियो । जाडो महिना सुर्यले आफ्नो duty छिट्टै सकिएको संकेत दीइरहेको थियो । छायाहरुको लम्बाइ बढ्दै थियो समानुपातिक रुपमा समय संगै । अगाडिका साथीहरु गन्थन गर्न थालेका थिए खै के बिषयमा हो । कुरो बुझ्दै जादा थाहा भयो हामीले त गन्तब्य नै बदली सकेका रहेछौ । बीच बाटोमै केटाहरुले लामो पर्खाल भयेतिर जान नभ्याउने अड्कल काटेछन । त्यता जाँदा साझ पर्ने र होस्ट्ल बस्ने केटी साथिलाई अप्ठ्यारो हुने , आदि कारणले अगाडी हिडेका साथिहरुले त्यस्तो निर्णय लिएछन । अरु कसैलाई पत्तै भएनछ । "कत्रो होला त नेपालको लामो पर्खाल ",,"कसका पालामा बनेथ्यो होला ?",,,आदी इत्यादी प्रश्नहरु अनुत्तरित भइरहे examको खाली पेपर जस्तै । साथिहरुको उत्सुकता त्यसै सेलाउदै गयो । केटाहरु कनकनाउदै  थिए ।-"ओहो ! धन्नै great wall of china जत्तिकै रहेछनी । बरु चन्द्रमाबाट पो देखिन्छ की देखिदैन । '"  हिड्ने जागर पनि मरिसकेको थियो । राष्ट्रिय निकुन्जको घना जंगल  पातलिदै जादा एउटा सानो गाउँ देखिए जस्तो लाग्यो । १२ जनाको टोली एउटा भाचिएको रुखको आडमा एकैछिन बिश्राम् लियौ । कोहि कोहि भने सविनलाई ठट्टौरी पारामा अझै भनिरहेका थिए । -"सबिनको सामान्य ज्ञानको पर्खाल त अद्रिष्य नै रहेछ ।"

( यो लेख January 30, 2011 मा  फेसबूकमा पोस्ट गरेको थिए ) 


Wednesday, August 1, 2012

तबसम्म देश बन्दैन


ट्विटरमा कहिलेकाही गम्भिर बिषयमा पनि रमाइलो तरिकाले बहश हुने गर्दछ । कती कुरा मात्र रमाइलो गर्नका लागि लेखिन्छ भने कती कुरा साच्चिकै चित्त नबुझेर लेखिन्छ । आज एक्कासी ट्विटरमा "कहिलेसम्म देश बन्दैन " भन्ने बिषयमा बहश सुरु भयो ।  खै कहाबाट सुरु भयो यो त मैले पत्ता लगाउन सकिन तर पनि देश नबन्नुका कारणहरुबारे बिभिन्न धारणाहरु टाइमलाइनमा पोखिए । हुन त यहाँ लेखिएका कती कुराहरु हल्का भावनाहरु मात्र लाग्न सक्छन तर पनि केही बिचारहरु  भने साच्चिकै मनन गर्न योग्य छन । गम्भिर कुराहरुलाई रमाइलो रुपमा प्रस्तुत गरिने ट्विटरमा देश प्रगतिको बाटोमा लम्कन नसक्नुका कारणहरु के के लेखिएको रहेछ त पढौ हामी पनि


Ananta Koirala ‏@AnantaBrt
जबसम्म पाँचतारे होटलहरूमा सेमिनार र मिटिङ सकिँदैन तबसम्म यो #देश बन्दैन। सबैलाई थाहा छ देश सेमिनार र मिटिङले बिग्रेको हो :(


प्रधानपञ्च ‏@pradhanpunch
जब सम्म जनता सचेत हुँदैनन र पैसा, रागो र रक्सी कै ह्याङ मा भोट् हाल्न छाड्दैनन् तब सम्म देश बन्दैन ।


Bigyan Neupane ‏@bigyan_science
जब सम्म १ रुपैयाको काम गरेर १०० रुपैयाको कुरो गर्न छोड्दैनन् मानिस तब सम्म बन्दैन देश।:)


Dipesh कोइराला ‏@addkali
जब सम्म देश प्रेम नेपालीलाई हल्ला लाग्छ तब सम्म यो #देश बन्दैन :p


Nilambar ‏@nilambar
जब सम्म मान्छेहरु काम को बेलाँ अपिसाँ बसेर टुइटर र फेसबुक चलाउछन तब सम्म यो देश बन्दैन :D


Govinda Shrestha ‏@goshrestha
जब सम्म भ्रष्टचारिहरू जेल पर्छन तब सम्म #देश बन्दैन, यिनलाई फैसला हुने बित्तिकै अदालत भित्रै मृत्युदण्डको ब्यबस्था हुनु पर्छ !!!On The Spot


Ananta Koirala ‏@AnantaBrtजबसम्म घाटबाट मुर्दा उठेर सडकमा दौडिदैन तबसम्म यो देश बन्दैन। देशमा मुर्दाहरूको जो राज छ, ज्यूँदाहरू कहिल्यै जन्मेनन् राजनीतीमा :( #Nepal


Frenzdiary Patriotic ‏@Frenzdiary
जसले जे भने पनि देश आफु नबन्दा(ज्ञानी,मेहनती ,अनुशाशित र सफल)सम्मबन्दैन|नेता,बिदेशी र राजनीति एकदम सहायक तर ठूला प्राविधिक हल्ला मात्र हून|


Balkrishna Ghimire ‏@ghimireab
जब सम्म गाउ गाउका मान्छेले ट्विटर चलाउदैनन तबसम्म #देश बन्दैन :)


Dipesh कोइराला ‏@addkali
जबसम्म बालकलाई स्तनपान गराउन छाडि डिस्को जान छोड्दिनौ तब सम्म यो #देश बन्दैन


slow mind ‏@Chalise86
जती #TL म कोहोलो गरेपनी म नफर्की देश बन्दैना के तेसैले सबै मिलेर मलाई #PMबनाउने बातावरण तयार पर्नुपर्यो :D


Raji Bajracharya ‏@rbazra
#जबसम्म आम नेपालीको टुलुटुलु हेरेर बस्ने र जे गरे पनि सहेर मात्रै बस्ने बानीहट्दैन... तबसम्म #देश बन्दैन ।


Anjan Panthee ‏@wanzanpanthee
जबसम्म मान्छेले हाइवे भन्ने फिल्म बुझ्देनन तबसम्म देश बन्दैन लौ जा....!!!!


Trilochan Bhattarai ‏@Trilochan347
"ओ हो कती फोहोर यो बागमती" भन्दै खोलातिर प्याच्च थुक्ने बानी नछाडे सम्म देश बन्ने वाला छैन


JawKnockRaazaa ‏@Jaw_Knock
बाबुरामलाई फिटिक्क काम गर्न नदे'र मात्र हो, नत्र दुई-चाटा देश ता बाउरामले बनाइदिन्थे, के को ल्याङ ल्याङ !! :))


Suraj Kumar Aryal ‏@Chhucho_Keto
भ्रम नै सहि कसैलाई गालि गर्दैमा र देश देश भनेर चिच्याउँदैमा देश बन्छ भनेर बिश्वास गर्दिन, सबैले आफ्नो उत्तरदायित्व पुरा गर्नैपर्छ देश बनाउन


Nirajan Sinkhada ‏@NiranDai
 चोर नेता जति सबैलाई यमलोक नपठाई बन्दैन यो देश


प्रधानपञ्च ‏@pradhanpunch
यो देशका कर्मचारी जब सम्म आफ्नो पेसा प्रती इमान्दार हुँदैनन तब सम्म देश बन्दैन। काम मा ध्यान छैन खाली twitter त । :P


Lenin Banjade ‏@lendaai
रोममा आगो लागिरहँदा निरोले मुरली बजाएजस्तै हो मित्र हामी ! गफ गरेर देश बन्ने भए गच्छदार, बाबुरामहरू रातदिन लागिपरेर यति मेहनत गर्थेनन् !


सुकुम्बासी Pasha ‏@KTMtwt
 जबसम्म भासन डिन सक्षम टर रासन दिन बौको ब्बया देख्ने बर्ग देश र ट्वीटरमा राज गर्छन्, टबसम्म देस् बन्डैन।













Monday, July 23, 2012

Photo Collection : 1



      

हरेक बर्ष झै २०६८ सालको दशैको बेला पनि बर्दघाट (नवलपरासी) स्थित आफ्नो घर गएको थियो । काठमाडौंको कोलाहल र प्रदुशणबाट पाएको दु:खलाई सम्झने हो भने त केही दिन गाउघरमा रमाईलै हुदो रैछ तर आफ्नो उमेरका साथिहरु त्यती नभएकाले अली-अली बोर पनि लाग्दो रैछ ।धेरै जस्तो साथीहरु बिदेश गएका छन भने कोही पढ्नलाई काठमाडौंमै बसेका छन् । तर यसपाली भने साथीको रुपमा एउटा कम्प्याक्ट क्यामरा थियो क्यानोनको । गएको अर्को दिन बिहान देखी नै क्यामरा लिएर हिंडे । खोला र खेतबारी चहारेर केही फोटाहरु खिच्दा  ४ घण्टा बितेको थाहा नै पाएनछु । पहिलो चोटि मोबाइल नै घर छोडेर हिंडेकोले घर एकैछिन त " छोरो " कता गएछ भनेर खोजतलाश नै भएछ ।त्यसबेला खिचेका केही फोटाहरु क्याप्सन सहित यहाँ पोस्ट गरेको छु । 



Dragon fly: हाम्रो तिर यसलाई खेताला किरा भनिन्छ । यस् किरा सँग मैले कारीब आधा घण्टा बिताउदा  के थाहा पाए भने खेताला किरा बसिराको ठाउमा कसैले डिस्टर्ब गर्‍यो भने त्यो भाग्दो त रहेछ तर फेरी त्यही आएर बस्दो रैछ । 




घिरौलाको फूलमा सानो पुतली जस्तो किरा 
It tries. I fails. It tries again. It fails better.....but finally it climbs to the top  
यस्को फोटो खिच्न खोज्दा यस्ले मलाई हेर्न त हेर्यो तर मैले बुझ्न सकिन यो उस्को निन्याउरो मुख थियो वा आफ्नै किसिमको स्माइल । तर बिचरोलाई कती पनि थाहा थिएन कि यो नै उसको अन्तिम फोटो थियो । किनकी अर्को दिन त ऊ कसैको दसैंको बोको बन्नु थियो । 

अनारको नफक्रिएको फूल 

तुलसिको फूल

सबै कुरा रहरले मात्र गरिदैन रे ....बिहानको सात बजेथ्यो होला, कुहिरोले पछाडि देखिएको  जँगल पुरै ढाकेको थियो । तर त्यही अस्पष्ट जँगल नै यिनिहरुको गन्तब्य थियो ।




Sunday, July 8, 2012

लघुकथा : भोक



दिउसोको समय उपत्यकामा गर्मी ह्वात्तै बढेको थियो । सबैलाई घाम छलेर घर  पुग्नै  हतारो थियो । टन्टलापुर कडा  घामलाई पर्खालले छेक्न खोज्दा बनेको  छाया पनि गाढा नै थियो । त्यही छायाको सहारामा एउटा सानो केटो हात फिजाएर बसिरहेको थियो । बाटामा हिंड्ने आधाभन्दा बढीले त उस्लाई एक झलक हेर्न पनि भ्याएनन होला । देखेका मध्य कतिले सुस्तरी भनेका पनि होलान " यस्तो हात गोडा  सध्दे भाकोले त काम गरेर खानु नि, यसरी माग्न कस्तो लाज नलागेको होला ?" तर उस्लाई यि शब्द कुनै नौलो थिएन। तर त्यस दिन सधैं भन्दा केही फरक भई दियो । एक धनाढ्य देखिने महिला उस्को नजिक आएर एकैछिन अडीइन ।ऊ छक्क पर्‍यो । ति महिलाले उसलाई आफ्नो घरमा लाने प्रस्ताव राखीन् ।एकैछिनको परिश्रम पछी बल्ल उनी सफल भइन् ।


पर्खालले घेरिएको ठुलो ५ तले घर । एउटा कार । अनी घरको नजिकै सुन्दर फुलहरु । अह ! उस्लाई कुनै चिजले आकर्शित गरेन । त्यसैले त उस्मा कुनै चमक थिएन । साझ पर्न थालेको थियो । उस्ले राम्ररी बुझिसकेको थियो ऊ त्यहा सानो तिनो काम गर्नलाई ल्याइएको हो । जसको बदलामा  उस्ले मिठो खान लाउन र केही पैसा पनि पाउनेछ । खाना खाने बेला भैसकेको  थियो । ति महिलाले एउटा कचौरामा मासु र भात हालेर उस्लाई दिदै भनिन ,"यो लगेर बाहिर पप्पीलाई देउ।" पप्पी , घर नजिकैको खोरमा राखेको सानो कुकुर ।घरभित्र छिर्ने बेलामा उस्ले देखेको थियो त्यो सेतो रङको खाइलाग्दो  कुकुर । शायद आकर्षक र ब्यबस्थित ठाउमा कुकुरलाई राखेको देखेर होला उसले अली धेरै बेर नियालेको थियो । केटो हातमा मासु र भात भएको  कचौरा लिएर पप्पी नजिकै गयो । तर त्यो दिन बिचरा पप्पी भोकै सुत्यो ।








Friday, June 15, 2012

कथामा S.L.C.


टि भि , रेडियो र फेसबूकका भित्ताहरु सबै एस.एल.सी को रिजल्ट आएको खबर फैलाइरहेका थिए । कम्प्युटर अगाडि बसेर रमाइरहेका मेरा आँखा अगाडि एकाएक सात बर्ष अगाडिका कुराहरु नाच्न थाले । रिजल्ट आएको थाहा पाउनसाथ ४ बजे नै उठेको र पत्रीका खोज्न बिहानभरी भौतारिएका क्षणहरु रमाईलै थिए ।

बिगतलाई सम्झिदै हराउदै थिए एकैछिनमा फुपुको छोरा कोठामा आएर रिजल्ट हेरिदिन भन्यो । एउटा साइटमा सिम्बोल नम्बर र जन्म मिती राख्नासाथ रीजल्ट कम्प्युटरको स्क्रीनमा एकैछिनमा देखियो । "ओहो! केटोले त ८५ % ल्याएछ ।" रिजालट देख्नासाथ खुशी र आश्चार्य मिश्रित वाक्य मैले बोलिहाले  ।  " जम्मा ८५ % " उसले  मुखबाट फ्यात्त निकालिहाल्यो । म छक्क परे । ८५ % पनि जम्मा भयो रे । खै मैले बुझ्न सकिन ।  ऊ आफ्नो परिश्रमको फल अली बढी नै मीठो भएकोमा मख्ख पर्दै कोठाबाट निस्कियो ।म फेरी सम्झिन थाले मेरो सात बर्ष अगाडिको एस.एल.सी नतिजा । " त्यतिबेला र अहिले तुलना गरेर पनि त भएन नी । " Time value of money" हिसाब गरेझै हरेक बर्ष १ प्रतिशत जोड्दै गए , मेरो भन्दा त बढी रहेनछ । म सन्तुस्ट भएँ ।
      
एकैछिनमा मामाघरबाट एउटा भाईको फोन आयो । उसले ५ वटा सिम्बोल नम्बर टिपायो । शायद सबै जना एउटै क्लासका थिए । मामाघरको त्यो खरले छाएको स्कुल , बडेमानको चौर , आकाशे रङ्को सर्ट लगाएर चौरमा खेलिरहेका बिद्यार्थी ,अझै पनि मेरो मनस्पटलमा ताजै छन । माद्यामिक तहसम्म भाको पनि भर्खर २ बर्ष भयो होला । सानैमा पढेको कथाको कछुवा जस्तो नेट स्लो भए पनि आखिर रीजल्ट हेर्ने साइट खुलेरै छाड्यो । मैले एक एक गर्दै सबै सिम्बोल नम्बरको नतिजा हेरिदिए । तर बिडम्बना ५ जना नै फेल भएछन । ३ जनालाई ईंग्लिश र २ जनालाई बिज्ञान बिषय लागेछ । कल ब्याक गरेर रिजल्ट सुनाउने साहस नै जुटेन । एकैछिनमा उतैबाट फोन आयो । सुन्न आतुर तिनिहरुको कानलाई नराम्रो खबर सुनाउन बाध्य भएँ ।

गाउ नै भए पनि त्यति दुर्गम त थिएन । अझै बिकट गाउको हालत के होला ? के एस.एल.सी ले साच्चिकै विध्यार्थीको क्षमता जाच गर्ला त भन्ने प्रश्न मनमा उठिरह्यो । गाउँमा दिनभर मेलापात गरेर , हातमा ४ वटा किताब च्यापेर पढेका बिध्यार्थी र शहरका सुबिधासम्पन्न भवनमा दर्जनौ किताब पढेका विध्यार्थीलाई एउटै फलामको ढोका पार गर्न लागाउनु जायज होला र ? अब के गर्लान ती फेल भएका बिद्यार्थीहरुले । अरु कती होलान त्यस्ता बिद्यार्थी जो त्यही एस.एल.सी को नतिजाको कारण जिवनलाइ नयाँ मोड दिन वाध्य छन । यस्तै यस्तै कुराले दिमाग भारी भैरहेथ्यो एकै छिनमा मामाघरकै भाईको नम्बरबाट मोबाइलमा sms आयो ," यो सिम्बोल नम्बर एकचोटी फेरी हेरी दिनु न । "



Friday, May 25, 2012

डायरिको पानाबाट : चम्पादेवी डाँडा हाइकिङ


२०६६ फाल्गुन २० गते कलेजमा पढाइ नभएकाले हामी चोभार नजिक जलबिनायक घुम्नका लागि गयौ । एकैछिन त्यही घुम्यौ । मन्जुश्रीले पहाड काटेर उपत्यकाको पानी बाहिर जाने मार्ग बनाएको ठाउँ पनि हेर्यौ । किम्बदन्ती पनि कस्ता कस्ता पत्यौनै गाह्रो पर्ने ,तर काटिएको ठाउँ हेर्दा त हो नै जस्तो लाग्थ्यो । "तर कस्तो हतियारले काटे तेत्रो अजङगको पहाड ?" ।".. मन्जुश्री त धेरै बलिया पो थिए होलान .... " यस्तै यस्तै उत्सुकताहरुले सबैको मनमा डेरा जमाइसकेको थियो । त्यहाबाट एउटा पहाड देखिएको थियो । डाडा देखेपछी केटाहरुको मन कहाँ थामिन्थ्यो र ?? अर्को दिन त्यो डाडा चड्ने योजना भयो ।

अघिल्लो दिनको योजना अनुसार हामी २१ गते बिहान १० बजेतिर बसपार्कमा भेट्यौ । साजन घरायसी कारण र सरोज थकाई लागेको कारण देखाइ आएन र शंकर किन आएन थाहा भएन । शंकर घुम्न जाने बेलामा त्यती आउँदैन । खै किन हो ?

दक्षिणकाली यातायात चढेर हामी १० जना गन्तब्यतिर लाग्यौ । टौडहबाट केही पर ओर्लियौ र डाडातिर लाग्यौ । चाउचाउ ,बिस्कुट तलै पसलमा किन्यौ ।केही समय हिडिसकेपछी बोसन भन्ने रमाइलो गाउ आईपुग्यो,तर त्यहाँ पानीको अलि अबाभ रहेछ । सँगै लेगेको पानी सकिसकेको थियो । अरु ठाउँमा जादा पानी प्रसस्त हुन्थ्यो ,बाटैपिच्छे मुहान वा धाराहरु हुन्थे । तर शायद त्यो उपत्यकाको दक्षिण भेग परेर होला पानीको अली अबाभ् भएको । एउटी बजैको घरमा एक बोतल पानी माग्यौ । बजैले पानी दिदै भन्नुभ्यो "डाडा पारी एउटा मात्रा कुवा छ ,अली टाढै पर्छ ।"

फेदमै एउटा मन्दिर रहेछ सायद त्यही थियो होला चम्पादेवी मन्दिर ।घुमघाम क्रममा त्यती जानकारी लिने गर्दैनौ त्यसैले  नि कती ठाउको त राम्ररी नाम पनि थाहा हुँदैन । यसरी हिंड्नुको मज्जा पनि बेग्लै छ । देवीको दर्शन गरेर हामी अझ माथि लाग्यौ । लछ्य एउटै थियो माथि डाडाको टुप्पामा पुग्ने ,बाटो होस् वा नहोस् ,कुनै पर्बाह छैन ।

जतिजती उचाइ बड्दै जान्थ्यो ,लाग्यो हामी सफलताको नजिक पुगिसक्यौ । एउटा अद्रीश्य युद्द हामीले जित्न थालिसक्यौ । डाडाबाट उपत्यकाको द्रिश्य प्रस्ट देखिन्थ्यो र त्यो धरहरा पनि जुन सधैं हाम्रो adventurous यात्राको दर्शक बन्ने गर्छ । हामी उपत्यकाको जुनसुकै डाडा चढेपनी त्यो धरहरा निराश नमानी हामीलाई हेरिरहे जस्तो लाग्छ ।

तर डाडामा चड्ने बाटो भेटियन,वा भनौ बाटो हामीले जानी जानी हरायौ सधैं झै । जङगल भित्र एउटा खोल्सो रहेछ ,शायद बर्षाको भेलले गाउमा पस्ने बाटो थियो त्यो खोल्सा । जे होस् हामीले खोजेको जस्तो थियो त्यो मार्ग । ओरिपरी घना जङगल वा भनौ घना झाडी ,रुखहरु त्यती ठुला थिएनन तर पनि झाडी भने असाध्यै डरलाग्दो,चकमन्न र सुनसान थियो र बिचमा उजाड ढुङ्गा र बालुवा मात्रा भएको खोल्सा । त्यही खोल्सामा नगन्य मात्रामा भएका जरा र भर पर्नै गार्हो हुने ढुङ्गाको साहारा लिएर माथि उक्लियौ । कोही साथीलाई पछाडि बाट धकेल्थे त कोही अगाडिबाट लौरिको मदतले तान्थे ।".. ओए त्रिलोचन अली राम्ररी समाउ है ,यो लठी अली कम्जोर छ नि .. "सुमित मलाई सजग गराउदै थियो । तर कोही भने बिना साहारा independently माथि पुग्नुमा नै आफुलाई सामर्थ्यवान ठान्थे । फुस्रा माटो जहाँ टेक्यो कि लर्कने ,धन्न कुनै अप्रिय घटना भएन । "धन्नै नलडेको यार, luckily बचेँ ".... "यहाबाट लडेको भये त सिधै तारेमाम हुन्थिस "... "ओए मनिष त्यो ढुङ्गामा नटेक है ,झर्यो भने मलाई लाग्छ ... "... यस्तै यस्तै भय र गर्व मिश्रित बाणिहरु साथीहरुको मुखबाट बर्सीरहेका हुन्थे ।

केही माथि पुगेपछी सबै तिर्खा र थकानले हिंड्नै नसक्ने भईसकेका थिए । तर जङगल नै हो । के को नै कमी थियो र । लटरम्म लालिगुराश फलेको देखियो अनी त भई हाल्यो "के खोज्छस कानो ....आँखो  । " रुख देखेपछी साथी कपिलको मन कहाँ थामिन्थ्यो र ,हेर्न नभ्यौदै उ रुखमा चढिहाल्यो र लालिगुरास टिप्न थाल्यो  । टिप्दै भुइमा फाल्दै । केटाहरु लालिगुरास्को रातो रातो र रसिलो पुष्पदल खान मै ब्यस्त । ... "कस्लाई चाहिन्छ भन है म टिपिदिन्छु  "... "ओए कपिल धेरै माथि नजा है,रुखबाट लड्लास "... "ओए त्यो हागामा नटेक .. भाच्चिन लाछ "... उमङ ,रमेश तलबाट चिच्यौदै थिए । तर आफ्नो सामर्थ्य देखाउने त्यस्तो सुनौलो मौका कहाँ छोड्थ्यो र उ.. रुखै बाट चिच्च्यायो .. " बालै भएन नि .. यस्ता रुख त कती चढियो कती.... ".. केही समय अघी सम्म रङगिन साडिमा सजिएजस्तो गुराशको बोटलाई क्षणभरमै हाम्रै अगाडि नङगाइ छड्यो । हामी के नै गर्न सक्थ्यौ र , त्यही लालिगुराश खाएर केही हद्सम्म भएपनी भोक र तिर्खा मेटाउन बाहेक ।
नाङगो गुराशको बोटलाई त्यही छाडेर हामी केही माथि उक्लियौ । त्यहा एउटा टेन्ट रहेछ । टेन्ट भित्र एउटा भाडामा पानी रहेछ ,तर त्यहाँ कोही मानिस थिएनन । डराइ डराइ भएपनी मजाले धित मर्नेगरी पानी खायौ । एकैछिन हिंड्नासाथ डाडाको चुचुरो आइपुग्यो ... जुन थियो हाम्रो गन्तव्यहिन यात्राको अन्तिम खुडकिलो ... जहाँ पुगेपछी संसारिक जन्जिरहरुबाट मुक्ती पाएको अनुभुती हुन्थ्यो,,, ब्यस्त जिन्दगी र शहरको कोलहालबाट धेरै टाढा । एउटा स्वतन्त्र राज्यमा जहाँ केबल आफ्नै शासन चल्थ्यो,केबल आफ्नै ......

(April 19,2010 मा फेसबूसका पोस्ट गरेको यो लेख मेरो पहिलो यात्रा सँस्मरण थियो । डायरिबाट सारेको हुनाले यसको शिर्शक डायरिको पानाबाट राखेको थिए । त्यसैबाट एक दुई लाइन मात्र इडिट गरी यहाँ पोस्ट गरेको हुँ । )