Friday, February 21, 2014

छोटकरिमा क्यामाण्डु



   काठमाडौं साच्चिकै एक अमुर्त शहर ! हरेक मानिसले यसलाई आफ्नै भोगाइ र सोचाइ अनुसार बर्णन गर्न सक्छन् । एउटा ब्यापारी जब पहिलोपटक काठमाडौं उपत्यका छिर्छ उसले नागढुङा उकालोबाट नै उपत्यकाको खाल्डोमा पैसाको खोलो बगिरहेको देख्छ र त्यही पैसा बटुलेर त्यही खाल्डोमा सपनाको महल बनाउने उपाय रची सकेको हुन्छ । जब कुनै विद्यार्थी पढ्नको लागि राजधानी छिर्छ उसका सुरुका केही दिन त यहाँका रँगी चँगी बिद्यालयका बिल्डिङहरु हेरेरै बित्छ । पिठ्युमा किताबभन्दा गरुँगा बाबु आमाको सपना बोकेर बिद्यालय जादै गरेका केटाकेटी देख्दा उस्लाई पनि कती रहर लाग्दो हो । तर बिस्तारै आफ्नो बा आमाको कमाइले उस्को किताब किन्ने पैसो पनि जुट्दैन भन्ने कटु सत्य थाहा पाउछ बिस्तारै आफ्नो सपनाको दायरा खुम्चाउदै जान्छ । अनी केही दिनमा यो पनि  बुझिसकेको हुन्छ कि गाउमा चर्चाको बिषय बनेको उस्को परिक्षाको प्राप्ताँक यहाँका धेरैजसो बोर्डिङहरुमा भर्ना हुनासाथ स्किमको रुपमा बाँडिएको हुन्छ ।


    कसैले रहररहर त कसैले गिद्दैगिद्दैको शहरसँग दाजेको यस् राजधानिमा जब कुनै ब्यक्ती जागिर पाउने आशामा छिर्छ सुरुसुरुमा त यहाँको भिड छिचोल्न नसकेरै ऊ निस्सासिन्छ । एकले अर्कालाई लखेटिरहेको जस्तो देखिने मानिसहरुको दौडधुपलाई देख्दा ऊ ठान्दो हो कि सबै आ आफ्नो काम धन्दामा जान हतार गरिरहेका छन । तर बिस्तारै बिस्तारै जब ऊ आफु पनि यही अस्तब्यस्त म्याराथूनमा सहभागि हुन थाल्छ तबसम्म उस्ले बुझिसकेको हुन्छ कि यो हस्याङ फस्याङमा जारिरे भन्दा ऊजस्तै बेरोजागारहरुकै सँख्या बढि छ र यसलाई जितेर अघी बढ्न उस्ले यहाँको नियम उल्लङ्घन गर्नै पर्छ ।

   शायद ४-५ कक्षातिरको कुरो हो । मेरो नेपाली भन्ने किताबमा एउटा पाठ थियो जस्मा एउटा विद्यार्थीको काठमाडौं यात्राबारे दैनिकिको रुपमा लेखिएको थियो । त्यो पाठ पढ्नासाथ काठमाडौंको एउटा चित्र मनस्पटलमा बनिसकेको थियो । अनी त्यो पात्रले झै एउटा चिटिक्कको डायरी किनेर काठमाडौं घुमेका कुराहरु लेखुला भनेर पनि सोचेको थिए होला शायद । त्यतिबेला एक रत्तिपनी सोचेको थिएन कि काठमाडौंमा यत्तिका बर्ष बिताइन्छ भनेर तर भबिश्य त्यो बेलाको सानो मस्तिश्कले सोचेको जस्तो कहाँ हुदो रैछ् र । परिस्थिती , अवसर र नियती यि तीन कुरामध्ये कुनै एउटाले पनि साथ नदिएको भए अहिलेपनी म चितवनको कुनै अफिसमा काठमाडौं कती चोटि पुगे भनेर औंला भाच्दै गनिरहेको हुन्थे होला । तर "दुर्भाग्यबश" तिनै कुराले साथ दिएछन । एस् एल सि सकिनासाथ काठमाडौं छिरेको अहिले करीब नौ बर्ष पनि बितिसक्यो । मोटो गाता भाको चिटिक्कको डायरि त किनिसके तर राम्रा कुराले रँगीने मौका भने डायरिले अझै पाएको छैन ।

    राजधानी शहरलाई बर्णन गर्न मान्छेहरुले धेरै शब्द खर्च गरिसके ।
धुलो , धुवा , फोहोर मैला र जामको बारेमा त अब कसैले लेख्यो भने पनि कस्तो पुरानो कुरा लेख्यो जस्तो लाग्न थालिसक्यो । जतिसुकै नराम्रो कुराहरुको पर्याबाची भएपनी समय ब्यतित गर्न भने यहाँ त्यती गाह्रो छैन । रत्नपार्क भित्र बौध्दिकतादेखी शरीरसम्म किनबेच गर्नेहरुको कलाकारिता हेर्ने हो भने पनि २-४ दिन राम्रैसँग बिताउन सकिन्छ । अझै आकाशेपुलमा उभिएर सडकपेटिमा तछाड् मछाड् गरिरहेका भिडमा आफुजस्तै टोलाइरहेका मान्छे गन्ने हो भने त दिन बितेको पत्तै हुँदैन ।