दिउसोको समय उपत्यकामा गर्मी ह्वात्तै बढेको थियो । सबैलाई घाम छलेर घर पुग्नै हतारो थियो । टन्टलापुर कडा घामलाई पर्खालले छेक्न खोज्दा बनेको छाया पनि गाढा नै थियो । त्यही छायाको सहारामा एउटा सानो केटो हात फिजाएर बसिरहेको थियो । बाटामा हिंड्ने आधाभन्दा बढीले त उस्लाई एक झलक हेर्न पनि भ्याएनन होला । देखेका मध्य कतिले सुस्तरी भनेका पनि होलान " यस्तो हात गोडा सध्दे भाकोले त काम गरेर खानु नि, यसरी माग्न कस्तो लाज नलागेको होला ?" तर उस्लाई यि शब्द कुनै नौलो थिएन। तर त्यस दिन सधैं भन्दा केही फरक भई दियो । एक धनाढ्य देखिने महिला उस्को नजिक आएर एकैछिन अडीइन ।ऊ छक्क पर्यो । ति महिलाले उसलाई आफ्नो घरमा लाने प्रस्ताव राखीन् ।एकैछिनको परिश्रम पछी बल्ल उनी सफल भइन् ।
पर्खालले घेरिएको ठुलो ५ तले घर । एउटा कार । अनी घरको नजिकै सुन्दर फुलहरु । अह ! उस्लाई कुनै चिजले आकर्शित गरेन । त्यसैले त उस्मा कुनै चमक थिएन । साझ पर्न थालेको थियो । उस्ले राम्ररी बुझिसकेको थियो ऊ त्यहा सानो तिनो काम गर्नलाई ल्याइएको हो । जसको बदलामा उस्ले मिठो खान लाउन र केही पैसा पनि पाउनेछ । खाना खाने बेला भैसकेको थियो । ति महिलाले एउटा कचौरामा मासु र भात हालेर उस्लाई दिदै भनिन ,"यो लगेर बाहिर पप्पीलाई देउ।" पप्पी , घर नजिकैको खोरमा राखेको सानो कुकुर ।घरभित्र छिर्ने बेलामा उस्ले देखेको थियो त्यो सेतो रङको खाइलाग्दो कुकुर । शायद आकर्षक र ब्यबस्थित ठाउमा कुकुरलाई राखेको देखेर होला उसले अली धेरै बेर नियालेको थियो । केटो हातमा मासु र भात भएको कचौरा लिएर पप्पी नजिकै गयो । तर त्यो दिन बिचरा पप्पी भोकै सुत्यो ।